
नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटाका भाँडा बनाउनेहरुलाई भ्याइनभ्याइ भएको छ ।
भक्तपुरको ‘पोर्टरी स्क्वायर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीयलाई भ्याइनभ्याइ भएको हो । परम्परागत रुपमा बनाइने यस्ता माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गरेका छन् ।
भक्तपुरका विभिन्न स्थानमा माटोका विभिन्न भाँडाहरु बनाउने काम धमाधम भैरहेको छ । चर्को घाममा भर्खरै बनाएका धुपौरो, पाला, खुत्रुके, कलश लगायत माटाका सामानहरु लहरै सुकाइएका छन् ।
बाउबाजेका पालादेखि नै माटाका भाँडाको व्यवसाय गरिरहेका गणेशमान प्रजापति भन्छन्, 'तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले हाल पाला बनाउन भ्याइनभ्याइ भएको छ ।' गणेशमान जस्तै अन्य व्यवसायीहरुलाई पनि माटाका पाला,बत्ती लगायत सामानहरु बनाउन भ्यानभ्याइ छ । तिहारमा विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढे तापनि संस्कृतिक रुपमा दियोको प्रयोग आवश्यक भएको कतिपय ग्राहककहरुको भनाइ छ ।
माटोका भाँडा बनाउने प्रजापती समुदायको पुर्ख्यौली पेशा हो । पहिले हातले चर्खा घुमाएर माटोका भाँडाहरु बनाउन गाह्रो हुने गर्दथ्यो तर अहिले प्रविधिको विकाससँगै काम गर्ने तरिका फेरिएको छ । भाँडामा बुट्टा भने हातैले नै भर्नुपर्ने उनीहरु बताउँछन् ।
तिहारको बेला माटाको पालाको विशेषगरी प्रयोग प्रयोग गरिन्छ । घरको आँगनदेखि झ्यालमा पनि पालामा नै दियो बाल्ने परम्परा छ । यसले लक्ष्मी माताले घर धनधान्य बनाइराख्ने विश्वास गरिन्छ ।
पहिलाको भन्दा अहिले माटोका पालाको माग कम हुने गरेको भक्तपुरका प्रजापतीहरु बताउँछन् । बिजुली बत्ती र भारतबाट पाला आयात हुने गरेका कारण अहिले पहिलाको जस्तो व्यापार नभएको व्यापारीहरुको भनाइ छ ।