
चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दशैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरूले बताएका छन् ।
दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर- घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताए।
उनका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन् ।
म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधन मार्फत दैनिक एक सयको हाराहारीमा आन्तरिक पर्यटक घोडेपानी आएका छन भने कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुदै पैदलयात्रा गरेर आउने पर्यटकहरूको सङ्ख्या पनि उल्लेख्य रहेको होटल व्यवसायीहरूले बताएका छन् ।
दशैँपछि धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको होटल सञ्चालक विरेन पुनले बताए ।
पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको दूरीमा पर्ने झन्डै २० भन्दा बढी हिम चुचुरालाई नजिकबाट नियाल्न सकिन्छ ।