पर्सा, कात्तिक ८ :

मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ ।

डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

मुलुकभर रहेका नाका मध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यस नाकाबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ६६ लाख ८० हजार बराबरको  एक लाख ३५ हजार पाँच  सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ ।

भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५ दशमलव ३३ प्रतिशतले घटेको हो। डिजेल आयात घटेसँगै राजस्व सङ्कलन पनि २७ दशमलव ४३ प्रतिशतले घटेको छ । 

मोतिहारी- अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना अन्तर्गत हाइस्पिड डिजेल पाइप लाइनबाट आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाटै नै ल्याउने गरिन्छ । 

अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्य अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको बताउनुहुन्छ । 

पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उहाँको बुझाइ छ । विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ । 

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माण क्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गर्नुभयो । 

हाल निर्माणजन्य सामग्री र उपकरणको आयात पनि घटेको छ । चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ । 

चालु आवको असोज मसान्तसम्ममा छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार सात सय १२ किलोलिटर पेट्रोल आयात भएको छ । 

अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२ दशमलव ५२ प्रतिशतले घटेको थियो ।