सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका मेघबहादुर थापा ‘बाबु थापा’ सर्लाहीबाट पक्राउ परेका छन्।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई सर्लाही प्रहरीले बागमती नगरपालिका–१ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापाको साथबाट दुई थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ।
थापा गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए। उनी फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश बमको २०६९ जेठ १८ गते ललितपुरस्थित यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो। उक्त हत्यामा संलग्न भएको अभियोगमा थापा दोषी ठहर भएका थिए। थापाको पक्राउसँगै फरार अभियुक्तको खोजीमा प्रहरीलाई सफलता मिलेको छ।