काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहले जिम्मेवारी सम्हालेका छन्। बिहीबार नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख उपेन्द्र कार्कीसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका हुन्।
स्वागत कार्यक्रममा नगर प्रमुख कार्कीले डा. साहलाई माला तथा खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि तथा नगरपालिकाका शाखागत कर्मचारीहरूको उपस्थिति थियो। उनीहरूले डा. साहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गरेका थिए।
स्थानीय तहको आगामी निर्वाचन नजिकिँदै गएको र वर्तमान जनप्रतिनिधिको कार्यकाल उत्तरार्धमा पुगेको अवस्थामा उनले प्रशासनिक नेतृत्व सम्हालेका हुन्। यस्तो अवस्थामा चालु योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु, विकास निर्माणका कामलाई गति दिनु र नागरिकलाई छिटोछरितो, सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउनु उनका प्रमुख चुनौतीका रूपमा रहनेछन्।
नगरपालिकामा सञ्चालित योजनाको नियमित अनुगमन, विकास निर्माणका काममा गुणस्तर कायम, बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने विषयमा उनको भूमिका महत्त्वपूर्ण रहनेछ। विशेषगरी जनप्रतिनिधिको कार्यकालको बाँकी अवधिमा अधुरा योजना सम्पन्न गर्ने र नागरिकका अपेक्षाअनुसार सेवा प्रवाह गर्ने जिम्मेवारी उनीमाथि रहनेछ।
जिम्मेवारी सम्हालेसँगै डा. साहले विकास निर्माणका आयोजनालाई प्राथमिकतामा राखेका छन्। सरुवा भएर नगरपालिका आएलगत्तै उनले विभिन्न वडामा सञ्चालन भइरहेका विकास निर्माणका आयोजनाको स्थलगत अनुगमन गरेका थिए। अनुगमनका क्रममा उनले सम्बन्धित पक्षलाई निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएका थिए।