आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।
दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक उपहारका विजेता घोषणा गरेका थिए। विजेता घोषणा भएलगत्तै उनीहरूले तामाङलाई फोन गरी १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए।
विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा २ लाख ७५ हजार ८८४ कारोबार बिल प्रविष्ट गरी कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए।
कार्यक्रमअन्तर्गत १६ जना दैनिक विजेताले जनही कर कट्टीपछि एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ ले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् ।
उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विभागले जनाएको छ।