सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार

दसैँले गाउँबस्तीमा बढायो रौनक

रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ ।
सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
दसैँले गाउँबस्तीमा बढायो रौनक
भोजपुर, कात्तिक २ :

बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ ।

रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ ।

भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने, मठमन्दिरमा पूजाआजा गर्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने चलनले पर्वको मौलिकता झल्काउँछ । दसैँका अवसरमा आयोजना हुने खेलकुदलगायत विभिन्न प्रतियोगिताले पनि गाउँघरमा उत्साह थप्ने गरेको छ ।

वर्षभरि कामको व्यस्तताले टाढिएका परिवारका सदस्य दसैँमा एकै ठाउँमा भेला भएर सुखदुःख साटासाट गर्ने, मीठोमसिनो खाने र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने तयारीमा जुटेका छन् । विशेषगरी रोजगारीका लागि जिल्ला बाहिर तथा अध्ययनका लागि सहरमा रहेका युवा–युवती घर फर्किएपछि परिवारसँग समय बिताउने अवसर पाएका छन् ।

दसैँका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल भोजपुरका मुख्य बजारमा बढेको छ । खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, फलफूल तथा पूजासामग्रीका पसलमा ग्राहकको आवागमन बढेको छ । सदरमुकाम भोजपुर बजार, दिङ्ला, घोडेटार र प्याउलीलगायतका बजारमा चाडपर्व लक्षित व्यापारिक गतिविधि बढेको छ ।

दसैँले स्थानीय कृषि उपजको बजारीकरणमा समेत सहयोग पुर्याउने गरेको छ । गाउँघरमा उत्पादन गरिएका खसीबोका, कुखुरा, तरकारी तथा फलफूलको माग बढ्दा किसानलाई आफ्नो उत्पादन बिक्री गर्ने अवसर मिल्ने टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय किसान देवबहादुर विष्टले बताए । चाडपर्वका बेला स्थानीय उत्पादनको माग बढ्दा किसानको आम्दानीमा सहयोग पुग्ने उनको भनाइ छ ।

दसैँका अवसरमा जिल्लाका विभिन्न शक्तिपीठ तथा धार्मिकस्थलमा पूजाआजा गर्ने परम्परा छ । पछिल्लो समय रोजगारी र अध्ययनका लागि युवा पुस्ता गाउँबाहिर जाने क्रम बढेसँगै परम्परागत चाडपर्व मनाउने शैलीमा परिवर्तन आउन थालेको छ ।

आधुनिक जीवनशैलीको प्रभावले कतिपय मौलिक चलन कमजोर हुँदै गए पनि दसैँले पुराना पुस्ताबाट नयाँ पुस्तामा संस्कृति, संस्कार र परम्परा हस्तान्तरण गर्ने अवसर प्रदान गर्दै आएको छ । परिवारसँगको भेटघाट, स्थानीय परम्पराको निरन्तरता र सामाजिक सद्भावसँग जोडिएको दशैँले भोजपुरका गाउँबस्तीमा आत्मीयता र उत्साह थपेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार