काठमाण्डौँ , कात्तिक ९ :

काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो १: ३० बजे माल्दिभ्स र  भुटान पनि खेल्दैछन् ।

यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११- ० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । 

यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो बेलुका भएको खेलमा भारतलाई ३- १ गोल अन्तरले हराएर बङ्गलादेश समूह ए को शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो । 

हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ ।