राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ।
कार्कीलाई आईजीपीबाट हटाउने निर्णयमा पार्टीको समेत निर्देशन रहेको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारको काममा पार्टीले हस्तक्षेप नगरेको बताएका हुन्।
पार्टी प्रवक्ता खरेलले सरकार सञ्चालनका क्रममा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्ने भए पनि कसलाई नियुक्त गर्ने वा कसलाई पदबाट हटाउने भन्ने विषयमा निर्देशन नदिने स्पष्ट पारे।
उनले भने, ‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ। कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम गर्दैन।’
यसअघि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार कार्कीलाई आईजीपी पदबाट हटाउने निर्णय भएको बताएका थिए। सरकारका प्रवक्ता र पार्टी प्रवक्ताको फरक अभिव्यक्तिले प्रहरी नेतृत्व परिवर्तनको निर्णयमा पार्टीको भूमिकाबारे प्रश्न उठेको छ।