प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।
नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसङ्घ (सिआइआई)द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । अर्थमन्त्री डा वाग्लेले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
“सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु”, अर्थमन्त्री डा वाग्लेले भने, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।”
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको स्पष्ट पारे । उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताए ।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिनप्रसाद, सिआइआई अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष डा विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरे । कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुगेका उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवं प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कोप-३१ निष्कर्षविहीन : नेपालको पर्वतीय मुद्दासम्बन्धी प्रस्ताव पनि पारित हुन सकेन
वैवाहिक बलात्कारमा कम सजायले पीडितमाथि थप जोखिम, कानुन सुधार्न सरकारलाई आग्रह
प्रधानमन्त्री बालेन्द्र शाहको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेँ : मोदी