नेपाल र भारतबीच हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणका क्रममा भएको यस सहमतिले विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फको हवाई सम्पर्क विस्तार गर्ने बाटो खोलेको छ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी–३४५ हवाई रुटलाई दुवैतर्फी बनाइने भएको हो। भ्रमणपछि जारी संयुक्त वक्तव्यको आठौं बुँदामा दुवै पक्ष यस विषयमा सहमत भएको उल्लेख छ।
संयुक्त वक्तव्यमा नागरिक उड्डयनसम्बन्धी विषयमा भइरहेका छलफललाई सकारात्मक रूपमा लिँदै हवाई सम्पर्क विस्तार तथा दुई देशबीचको आर्थिक गतिविधि प्रवर्द्धनमा जोड दिइएको छ। रुटलाई दुईतर्फी सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक परामर्श गरी कार्यान्वयनको मोडालिटीलाई अन्तिम रूप दिने सहमति पनि भएको छ।
नेपालले लामो समयदेखि उक्त हवाई रुट दुईतर्फी सञ्चालनका लागि भारतसँग आग्रह गर्दै आएको थियो। यसअघि एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदै आएको रुट दुईतर्फी बनेपछि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ हुने हवाई आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, नयाँ व्यवस्था कहिलेदेखि लागू हुने र उडान सञ्चालनको विस्तृत मोडालिटी के हुने भन्ने विषय टुंगिन बाँकी छ।
यसैबीच, नेपालले लामो समयदेखि माग गर्दै आएको पश्चिमतर्फको महेन्द्रनगर हवाई प्रवेश विन्दुको विषय भने यसपटक पनि टुंगोमा पुग्न सकेन। नेपालले करिब १२ वर्षदेखि पश्चिमबाट काठमाडौं प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगरको हवाई रुट उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ। त्यसैगरी जनकपुर र भैरहवाबाट थप हवाई प्रवेश विन्दु उपलब्ध गराउन पनि नेपालले जोड दिँदै आएको छ।
भारतले भने हवाई रुटसम्बन्धी विषयलाई समग्र प्याकेजका रूपमा टुंग्याउन प्रस्ताव गर्दै आएको छ। त्यसक्रममा भारतले पश्चिम बंगालस्थित बागडोगरा र बिहारको रक्सौल विमानस्थलमा उडान सञ्चालनका लागि नेपाली आकाश प्रयोग गर्न दिनुपर्ने प्रस्ताव अघि सारेको छ।
नेपालले भने हवाई रुटको विषयलाई प्याकेजमा टुंग्याउने प्रस्तावमा सहमति जनाएको छैन। विशेषगरी बागडोगरा विमानस्थलबाट व्यावसायिक उडानका लागि नेपाली आकाश प्रयोग गर्न दिन सकिने भए पनि सैन्य प्रयोजनका लागि भने अनुमति दिन नसकिने नेपालको अडान छ।
दुवै देशबीच हवाई रुटसम्बन्धी अन्य प्रस्तावमा पनि छलफल जारी राख्ने र आवश्यक प्राविधिक परामर्शमार्फत तिनलाई अघि बढाउने समझदारी भएको संयुक्त वक्तव्यमा उल्लेख छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ हवाई प्रवेशमार्गबारे सहमति हुने लुम्बिनीवासीको अपेक्षा
तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार प्रधानमन्त्री शाह र समकक्षी मोदीले दिल्लीबाट शिलान्यास गर्ने
सुनको मूल्य तोलामा २ हजार ८०० र चाँदीको ४५ रुपैयाँले घट्यो