
काठमाण्डौँ , कात्तिक १२ :
साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ ।
खेल दशरथ रङ्गशालामा बेलुका ६ः ३० बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रो पटक भारतसँग खेल्न लागेको हो ।
दुई वर्षअघि दशरथ रङ्गशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १- ० ले हराएर फाइनलमा पुगेको थियो ।
साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको त्यो पहिलो पटक थियो । यसपटक नेपाल र भारत तथा साविकको उपाधि विजेता बङ्गलादेश र भुटानले सेमिफाइनलमा खेल्ने छन्।
बङ्गलादेश र भुटानले फाइनलमा पुग्न दिउँसो १ः ३० बजे दशरथ रङ्गशालामा खेल्नेछन् । अघिल्लो संस्करणमा बङ्गलादेशले घरेलु टोली नेपाललाई ३- १ गोलले हराएर उपाधि जितेको थियो ।