बैतडी, कात्तिक १४ :

बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सका खेल सम्पन्न भएका छन् । 

सुपर सिक्सका खेलबाट चार समूह सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा पञ्चेश्वर गाउँपालिकाको टोली लगातार दोस्रो उत्कृष्ट जीतका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

सेमिफाइनलमा सुरक्षित हुने क्रममा पञ्चेश्वरले कुलगडे क्रिकेट क्लबमाथि दुई सय २४ रनको जीत निकाल्यो ।
 
पञ्चेश्वरले दिएको तीन सय रनको विशाल लक्ष्य पछ्याएको कुलगडे १२.५ ओभरमा ७५ रनमा समेटियो ।

यसअघि श्रीकृष्ण मावि पाटनको खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय ९९ रन बनायो ।

पञ्चेश्वर समूहबाट आयोजक पाटन क्रिकेट क्लब उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । 

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिनुभयो । 

द्वितीय पुरस्कार रु ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ । 

‘म्यान अफ द सिरज’बापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘बेस्ट बलर’ र ‘ब्याट्सम्यान’लाई पनि समान रु छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय ९बिडिपिआइ० र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।