
हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ ।
ऋषिङ गाउँपालिका- १ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो ।
आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ । दिउँसो र राति गरी दुई ‘सिफ्ट’मा निर्माण भइरहेको छ ।
चरण- १ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छ भने चरण–२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युत्गृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई चरणमा दुई सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ । यसअघि दसैँमा आयोजनाको काम निरन्तर गरिएको थियो ।
सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम नरोकेको उहाँले बताउनुभयो । चरण- १ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम- कालिका कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।
चरण- २ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत काम भइरहेका छन् ।