ललितपुर, कात्तिक २६ :

गोदावरी नगरपालिका- १ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ ।

 ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्‌घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आयोजक र खेलाडीलाई शुभकामना व्यक्त गर्नुभयो । 

प्रतियोगितामा नौ वटा वडाबाट ११ समूह प्रतिस्पर्धा गरिरहेका छन् । 

स्थानीय खेलाडीलाई प्रोत्साहित गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः ५० हजार, रु २५ हजार, र रु १५ हजार पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै दुई लाखसम्मको उपचार बिमाको व्यवस्था गरिएको वडाध्यक्ष वडाध्यक्ष श्रीराज थापाले जानकारी दिनुभयो । 

प्रतियोगिताको पहिलो दिन हिजो तीन खेल भए। पहिलो खेल ‘डि वाई सिए’ र गोजवेश्वर युथ क्लबबीच गोलरहित बराबरीमा समाप्त भएको थियो । 

दोस्रो खेलमा ‘डि वाई सिबी’ र फुलचोकी युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फुलचोकी क्लब १ गोलले पराजित भयो । 

तेस्रो खेलमा गोदामचौर युथ क्लबले नवोदय युथ क्लबलाई ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेको आचार्यले जानकारी दिनुभयो ।