काठमाण्डौँ , कात्तिक २८ :

यूएईमा जारी यू- १९ महिला टी- २० विश्वकप छनोट अन्तर्गत चौथो खेल नेपालले आज कुवेतसँग खेल्दैछ ।

खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा चार मध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार बेहोर्दै अङ्कविहीन छ ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई १०६ रनले हराएको थियो ।

शीर्ष स्थानमा रहने टोली यू- १९ महिला टी- २० विश्वकपमा छनोट हुनेछ ।

घरेलु टोली यूएई सबै चार खेल जितेर ८ अंक सहित शीर्ष स्थानमा छ । यूएईले आज थाइल्याण्डसँग खेल्नेछ ।

लिग चरणको अन्तिम खेलमा भोलि नेपालले यूएईको सामना गर्नेछ ।