काठमाण्डौँ , कात्तिक २९ :

आईसीसी यु- १९ महिला टी- २० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ।

नेपालले आज दिउँसो १ः३० बजे युएईको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जित र एक हारको सामना गरेको छ। विश्वकप एसिया छनोटका लागि नेपालले आजको खेलमा यूएइविरुद्ध जित्नुपर्ने दबाब छ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्यान्डमाथि १०६ रनको जित निकालेको थियो।

पाँचौ खेलमा हिजो नेपालले कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको छ।

पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अङ्क जोडेको छ। युएईले भने पाँच खेलमा सबै जित निकाल्दै १० अङ्क जोडेको छ। 

थाइल्याण्डले दुई अंक जोडेको छ भने कुवेत अङ्क विहीन छ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। यो प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु- १९ महिला टि- २० विश्वकपका लागि छनोट हुनेछ। 

यु- १९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ।