
अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण गर्ने उद्देश्यले कोशी प्रदेशका ३० वटा पालिकामा कार्यक्रम सञ्चालन हुने भएको छ ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत सहभागितामा आगामी मङ्सिर २ गतेदेखि पुसको दोस्रो हप्तासम्म उक्त कार्यक्रम हुने भएको हो ।
झापा, ताप्लेजुङ र तेह्रथुमका स्थानीय तहको प्रत्येक वडामा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि शिविर आयोजना गर्ने तयारी भइरहेको करुणा फाउण्डेसन नेपाल कोशीका कार्यक्रम संयोजक कमल कोइरालाले बताउनुभयो ।
उहाँले कार्यक्रममा नवजात शिशु, १० वर्षमुनिका बालबालिकाको परिचयपत्र वितरण, स्वास्थ्य परीक्षण, श्रवणयन्त्र, ह्वीलचियर, कृत्रिम हातखुट्टाको नापजाँच, विद्यालय भर्नालगायत सेवा उपलब्ध हुने जानकारी दिनुभयो ।
२०७८ को जनगणनाअनुसार झापामा २३ हजार नौ सय ८८ अपाङ्गता भएका व्यक्ति छन् । जसमा नौ हजार पाँच सय ५९ जनाले परिचयपत्र लिइसकेका छन् ।
संयोजक कोइरालाले झापाका पालिकामा १३ हजार तीन सय ६४ जनाको लगत सङ्कलन गरिसकेको र उनीहरूलाई सेवा प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो ।
अर्जुनधारामा एक हजार दुई सय ९०, कनकाईमा सात सय ३८, गौरादहमा छ सय ६३, दमकमा एक हजार ७९, बिर्तामोडमा सात सय ८९, भद्रपुरमा नौ सय १३, मेचीनगरमा एक हजार सात सय ४४ र शिवसताक्षी नगरपालिकामा आठ सय तीन जना अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलन भइसकेको छ ।