
राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन कोप- २९ मा नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु संरक्षणका विषय उजागर गर्न भ्रमण फलदायी भएको जनाइएको छ ।
अजरबैजानको बाकुमा भएको सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृतबहादुर राईले ‘हिमालदेखि समुद्रसम्मको एकीकृत भावनाले जलवायु संरक्षण गर्नुपर्छ’ भनी नेपालले उठाउँदै आएका विषयमा भ्रमणबाट थप जोडबल पुगेको स्पष्ट पार्नुभयो ।
जलवायु वित्त, हानिनोक्सानी र अल्पविकसित देशले भोगिरहेका पीडा कम गर्न विश्व समुदाय माझ प्रविधि र वित्तीय सहायता बढाउनुपर्छ भन्ने नेपालको धारणा उजागर गर्न भ्रमणबाट थप बल पुगेको उहाँको भनाइ छ ।
हिमालदेखि समुद्रसम्मको सम्बन्धलाई एकीकृत रूपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्व समुदायलाई त्यस बैठकमा सहभागी हुन निमन्त्रणा दिनुभएको प्रवक्ता राईले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले सबै पर्वतीय मुलुकको भावनाको प्रतिनिधित्व गर्दै ‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो’ भन्ने कुरालाई हरेक फोरममा उठाएको विषय प्रभावकारी भएको महसुस गरिएको उहाँको भनाइ छ ।
अजरबैजानमा रहँदा राष्ट्रपति पौडेलले यही कात्तिक २७ गते ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’ को उद्घाटन समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डलको नेताको हैसियतले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले कार्बन उत्सर्जनमा नेपालको नगण्य योगदान भए पनि जलवायु परिवर्तनका कारण सेता हिमाल काला पहाडमा परिणत भएको र नेपाल जलवायुजन्य विपत्को चपेटामा परेको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो ।