अयोध्या, मंसिर ४ :

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतर प्रदेशको अयोध्या धाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ ।
 
विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आज अयोध्या धाममा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी- बेटीको सम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले विवाहपञ्चमी समारोह हर्षोल्लासका साथ मनाउन नेपाल र भारतका नागरिकले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण र सराहनीय रहेको बताउनुभयो ।

ट्रष्टका महासचिव रायले जनकपुरधाम र अयोध्याको सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल र भारत सरकारका साथै नागरिक तहमा रहेको सम्बन्ध महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विवाह पञ्चमीको महत्व बढाउन दुवै देशका सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री लगेर टोली त्यहाँ गएको हो । ती सामग्री  राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ ।