
गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्रयाक खोल्न बन्द गरेको छ ।
ट्रयाक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको छ ।
नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनुपूर्व गलकोटमा तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरू निर्वाचित भएर आएपछि करिब दुई सय २० किमि बढी सडक निर्माण भइसकेको जानकारी दिनुभयो ।
पालिकाभरि नयाँ तथा पुराना गरी पाँच सय ५० किमि ग्रामीण सडक रहेका छन् ।
नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्रयाक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताउनुभयो ।
अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरि काम भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालिएको नगरप्रमुख गैरेको भनाइ छ ।
गत वर्ष हटिया- हरिचौर- ताराखोला सडक, हटिया बजारबाट कोटघर र नरेठाँटी- दुदिलाभाटी सडक स्तरोन्नति गरिएको उहाँले जानकारी दिनुभयो ।