झापा, मंसिर १० :

खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ । 

झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उहाँले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको हो । 

मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माणमा तीव्रता ल्याउनु पर्नेमा जोड दिनुभयो ।

सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको शनिश्चरेस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीसँग छलफल गर्दै मन्त्री यादवले स्थानीयस्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री यादवले झापाको मेचीनगरमा चारआलीस्थित साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित काँकरभीट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गर्नुभएको थियो । 

उहाँले स्थानीय तहमा भएका सकारात्मक कार्यको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारका क्रममा देखिएका चुनौती समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।