राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस चलाउन रोक लगाएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेसंगै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाएको हो ।
विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ । विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्वक, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ ।
प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ ।
प्राधिकरणले उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउनसक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाहरूका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने, भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ ।