पाल्पा, मंसिर १४ :

अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ ।

निस्दी गाउँपालिका- ४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका- १४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत एक करोड ३७ लाख ६७ हजार नौ सय २० को लागतमा निर्माण भएको हो । 

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पुल उद्‌घाटन गर्दै विकास- निर्माणलाई सङ्घ र प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । 

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पुल अभावमा कठिन आवागमन अब  सहज हुने बताउनुभयो । 

पुलबाट निस्दी गाउँपालिका बाहेक रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमारनवलपुरतर्फ (नवलपरासी सुस्तापूर्व) मध्यबिन्दु नगरपालिकाको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।