झापा, मंसिर १७ :

बिर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रम अन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ भने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । 

सहरी विकास मन्त्रालयले बिर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा रु. १३ करोड बजेट विनियोजन गरेको थियो । उक्त रकममध्ये छ करोड ३१ लाख ३२ हजार ६०२ को लागतमा छ वटा सडक कालोपत्र थालिएको छ । 

बाँकी रकम बाँकी रकम वडा नं. ६ को हरियाली सामुदायिक वनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण जारी छ । उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ । 

नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १, २, ३, ६ र ८ का केही सडक कालोपत्र भइरहेका  छन् भने केहीको स्तरन्नोति एवं कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छन् ।

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सडकमा विद्युत्का खम्बा व्यवस्थापन कार्य भइरहेको छ ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराटपोखर विद्यालय सम्मको सडक र वडा नम्बर ८ को गरामनी- कटहरडाँगी- हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ  ।

हालसम्म पूर्वपश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी बिर्ताबजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ ।