जुम्ला, साउन २४ :
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला, एसमोड र कालेखोलामा क्षति पुर्याएपछि राजमार्ग अवरुद्ध भएको हो ।
शुभकालिका-१ स्थित गगनेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
आज बिहानदेखि राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगञ्ज काठमाडौँ आवत जावत गर्ने सवारी साधन बीच बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका छन् । बिहानदेखि पहिरो पन्छाउने कार्य भैरहेको सूचना अधिकारी जिटीले बताउनुभयो ।