खोटाङ, मंसिर २३ :

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । 

नगरपालिका सहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन- २०८१’ को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक- एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको हो । 

बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न/ गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । 

उपहार दिने कुर्सी यही मङ्सिर २८ गतेदेखि वडा नं ६ नेर्पामा बनाउन सुरू गरिने उहाँले बताउनुभयो । उच्च पदस्थ व्यक्तिलाई उपहार दिने भनेपछि कुर्सी बनाउने क्रममा सुरक्षा संवेदनशीलता तथा कुनै कानूनी समस्या आउन सक्ने भएकाले त्यसका लागि सुरक्षा संयन्त्र परिचालन गरी सहजीकरण गर्ने वातावरण मिलाई दिन सम्बन्धित निकायमा अनुरोध समेत गरेका उहाँले जानकारी दिनुभयो ।

प्रत्येक वडाबाट बाँससँग काम गर्ने १५ जना विज्ञ व्यक्तिहरू वडाले छनोट गर्ने र नगरबाट प्रोत्साहित गरेर छनोट भएका व्यक्तिहरूले सम्मेलनमा प्रदर्शनी गर्न र उच्च पदस्थ व्यक्तिहरूलाई उपहार दिने बाँसको कुर्सी बनाउने जनाइएको छ ।

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन- २०८१’मा उपयोगविहीन बाँसको संरक्षण, व्यवस्थापन, दिगो उपयोग र उद्यमशीलता विकास गरी पर्यावरण संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्दै समृद्ध नगरपालिका र राष्ट्र बनाउने उद्देश्य राखिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो ।