काठमाण्डौँ , मंसिर २५ :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । 

अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त तथा निजी क्षेत्रमा लगानी परिचालन लगायतका विषयमा छलफल भएको हो ।

नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानको विषयमा छलफल भएको अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले बताउनुभयो ।

अमेरिकी सहयोगमा एमसिसी, युएसएआईडि लगायतका कार्यक्रमबाट सञ्चालित परियोजनाको कार्यान्वयनका सम्बन्धमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी) बाट नेपालको निजी क्षेत्रमा पनि लगानी भइरहेकामा त्यसलाई अझ कसरी प्रभावकारी बनाउन र विस्तार गर्न सकिन्छ तथा नेपालमा थप पुँजी कसरी भित्र्याउन सकिन्छ भन्नेबारे लुले चाँसो देखाउनुभएको छ । 

यसमा नेपालले निजी क्षेत्रबाट लगानीलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाएको सहसचिव शर्माले बताउनुभयो

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लुलाई आग्रह गर्नुभयो ।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले  अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी दिनुभयो ।