
विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयनमा आएको छ ।
आज आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच सो कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो ।
सन् १९५८ मा जापानको ओसाकाबाट थालनी भएको यो कार्यक्रमले विद्यार्थीको मानसिक विकास, ‘आइक्यु’को स्तर वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुग्ने बताइएको छ ।
विभिन्न ४० भन्दा बढी विद्यालयका प्रधानअध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा जापानस्थित एनपिओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको महत्वमा जोड दिनुभयो ।
जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले कुमोन कार्यक्रमको विश्वव्यापी प्रभाव रहेको जनाउँदै विश्वका १० प्रतिशत विद्यार्थीहरू (करिब ४० लाख) ले कुमोन विधि प्रयोग गरिरहेको बताउनुभयो । यो कार्यक्रम विश्वका ६५ देशका २३ हजार सात सय केन्द्रहरूमा सञ्चालित छन् ।
यस विधिले लाखौँ बालबालिकाको मनोवैज्ञानिक विकासमा योगदान पुर्याउँदै उनीहरूलाई स्वतन्त्ररूपमा सिक्न र आलोचनात्मक सोच विकास गर्न प्रेरित गर्दै आएको छ ।
कुमोन आइजिसी नेपालका अध्यक्ष गणेशमान लामाले यस विधिलाई विद्यार्थीको मानसिक प्रशिक्षणमा केन्द्रित कार्यक्रमको रूपमा बुझ्न आग्रह गर्नुभयो । यसले परम्परागत शैक्षिक शिक्षण विधिलाई प्रतिस्थापन गर्ने जनाउनुभयो ।