
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले काठमाण्डौँस्थित विद्यालयहरूको आकस्मिक निरीक्षण गर्नुभएको छ ।
उहाँले जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालय, ललितपुरको न्यू मिलिनियम स्कुल र बूढानीलकण्ठको इम्पेरियल वल्र्ड स्कुलको आज अनुगमन गर्नुभएको हो ।
मन्त्री भट्टराईले विद्यालयको शैक्षिक अवस्था, शिक्षण सिकाइ, पाठ्यक्रमको प्रभावकारिता र कार्यान्वयन अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले निरीक्षणका क्रममा कक्षाकोठामा पुगेर पाठ्यक्रमको अभ्यास, पाठ्यक्रममा देखिएका समस्या, अध्ययन गर्दै गर्दा भोगेका समस्या तथा सिकाइबारे विद्यार्थीहरूसँग साक्षात्कार गर्नुभयो ।
सोही क्रममा विद्यार्थीहरूले नेपालको विद्यालय शिक्षा सुधारमा मन्त्रीका योजनाबारे जिज्ञासा राखेका थिए । सैद्धान्तिक पढाइभन्दा प्रयोगात्मक तथा व्यावहारिक शिक्षा आफूहरूलाई आवश्यक रहेकाले त्यसतर्फ ध्यान दिन विद्यार्थीहरूले आग्रह गरेका थिए ।
खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफूहरूलाई व्यावहारिक शिक्षा चाहिएकाले तालिमको व्यवस्था गरिदिन आग्रह गरे । अवलोकनपछि मन्त्री भट्टराईले विशेष शिक्षाका बारेमा राज्यले छुट्टै अवधारणा बनाएर विद्यार्थीहरूको सिकाइमा ध्यान दिनुपर्ने र त्यसका लागि आफूले विशेष पहल गर्ने बताउनुभयो ।
उहाँले संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच ज्ञान तथा शिक्षण सिकाइको आदानप्रदान गर्नुपर्ने, ‘प्रोग्रेसिभ एजुकेसन’ को अवधारणालाई सबै विद्यालयमा लैजान आवश्यक रहेको र विद्यार्थीहरूलाई समान शिक्षा दिनुपर्ने बताउनुभयो ।