म्याग्दी, पुस १४ :

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ । 

भारतीय आयात- निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएको छ । 

आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले आगामी २०८२ को असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्टटेलरेस डग निर्माण सकिएको उहाँले बताउनुभयो । 

स्विचार्ड निर्माण र विद्युत्गृहका उपकरण जडान गर्न थालिएको छ । डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।

मुख्य सुरूङको चार वटा अडिटबाट शुक्रबारसम्म दुई हजार दुई सय ४३ दशमलव आठ मिटर लाइनिङ (ढलानप्लास्टर) सकिएको सिभिल महाशाखा प्रमुख कट्टेलले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका- ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (आरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृह निर्माणाधीन छ ।