
“मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौँ बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन”, राप्तीसोनारी गाउँपालिका- २ टिकुलीपुरकी सीमा केसीले भन्नुभयो- “बाख्रापालनबाट गरेको आम्दानीले घरखर्च चलाउँदै आएकी छु ।”
वन्यजन्तुले वस्तुभाउ मारेपछि सरकारबाट राहत पाइन्छ भन्ने थाहा पाउनुभएकी केसीले सोही अनुरूप कागजात जम्मा गरेर बुझाउँदा पनि समयमा आफूले राहत नपाएको गुनासो गर्नुभयो । राहत पाउने प्रक्रिया सहज बनाउनुपर्ने उहाँको माग छ । केसीले प्रक्रिया लामो र झन्झटिलो भएकामा दुखेसो पोख्नुभयो ।
“मैले सबै कागजात बुझाएकै छु, राहत पाउँछु भन्ने आशा छ । तर समय धेरै लाग्ने रहेछ । कागजात बुझाएको हप्ता- दश दिन लाग्ने व्यवस्था गरिदिए सजिलो हुने थियो”, केसीले रासससँग भन्नुभयो ।
केसीजस्तै अर्का स्थानीय सीताराम जैसी पनि बँदेल र बाघले मात्र नभई सुगाले पनि बाली खाएर नोक्सानी बेहोर्नुपरेको गुनासो गर्नुभयो । “मकैले दुधे दाना फलाउन पाएकै हुँदैन, सुगाका बथान आएर बारी भरिको मकै सखाप पारिदिन्छ”, जैसीले भन्नुभयो, “फल लाग्ला र खाउँला भन्ने आशामा बाली लगाउँछौँ । सुगाले सखाप पार्ने गरेको छ ।” जैसीले वन्यजन्तुसँगै पन्छीले पनि अन्नबाली स्याहार्न नदिएकाले खेतीबाली लगाउन जाँगर नै नलागेको बताउनुभयो ।
सोही ठाउँका पदमी पुनले ऐलानी जग्गा भएका कारण राहत पाउन नसकेको बताउनुभयो ।
राप्तीसोनारी- २ कचनापुरका विनोद मल्ल बाँदरको बथानले दिनदिनै घरभित्रका अन्न र पकाइएका खानेकुरा नष्ट गरिरहेका बताउनुभयो । बाँदर धपाउन सधैँ कोही न कोही घरमै बस्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।
वन्यजन्तुकै कारण पीडित सोही ठाउँकी मनकामना थारूले राहत प्रक्रियाका लागि आवश्यक कागजात र कार्यालय धाउदा समय र पैसा दुवै खर्चिलो हुने गरेको बताउनुभयो ।
बाँकेको राप्तीसोनारी- २ स्थित वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कृष्ण केसीले स्थानीयका समस्या समाधान गर्न आफूहरूको ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले राहत प्रक्रियाका क्रममा स्थानीयले भोगेका समस्या समाधान गर्न सम्बन्धित निकायमा समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वन्यजन्तुबाट पीडित टिकुलीपुर र कचनापुरका स्थानीयले राहत प्रक्रियामा अन्य कागजातसँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग गरेका छन् ।
घर र सामुदायिक वन अनि वनसँगै जोडिएको बाँके निकुञ्जकै कारण निकुञ्जका वन्यजन्तुले सहज रूपमा घरगोठमा बाँधिराखेका वस्तु खाइदिँदा त्यहाँका स्थानीय चिन्तित छन् ।