काठमाण्डौँ , पुस १७ :

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र- २०८६ (क)’ को बिक्री न्यून देखिएको छ ।

गत मङ्सिर १२ गते जारी भएको ५० करोड बराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो । यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र पाँच करोड ४२ लाख बराबरको बिक्री भएको छ ।

कार्यालयले यसअघि जारी गरेको दुई अर्ब बराबरको ‘नागरिक बचतपत्र भने शतप्रतिशत बिक्री भएको छ । नागरिक बचतपत्रमा  सात दशमलव ५० र वैदेशिक रोजगार बचतपत्रमा आठ दशमलव ५० प्रतिशत ब्याज तोकिएको छ । बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैङ्क खातामा सोझै भुक्तानी हुन्छ ।

यस्ता बचतपत्रको ब्याजदर बैङ्कको मुद्दती निक्षेपभन्दा आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन । लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार, र मुद्दती निक्षेप जस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् ।