
यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई टन सुन्तला उत्पादन भएको हो ।
उत्पादितमध्ये ९० प्रतिशत बिक्री भएको उहाँले बताउनुभयो । उत्पादित सुन्तला थोक मूल्यमा प्रतिकेजी ५६ का दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ
गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो । स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उहाँले बताउनुभयो ।
वि. सं २०७३- ७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरका परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५- ७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो ।
सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताउनुभयो । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् ।