काठमाडौं, पुस १९ :

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेको छ । योसँगै नेप्से २५८६.२३ विन्दुमा रोकिएको छ ।

यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । हिजो (बुधबार) तीन अर्ब ५९ करोडको सेयर कारोबार भएकामा आज (बिहीबार) चार अर्ब ६० करोडको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम एक अर्ब एक करोड रुपैयाँले बढेको हो । आज ३१५ वटा कम्पनीको ५० हजार ४४७ पटकको कारोबारमा एक करोड ८६ हजार ७०५ कित्ता सेयर किनबेच भए ।

नेप्सेमा बिहीबार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटाको घटेको छ । यस्तै ११ कम्पनीको मूल्य स्थिर रह्यो । जसअन्तर्गत १३ समूहको सेयर कारोबार भएको थियो । जसमा पाँच समूहको सूचक घटेर बाँकी समूहको सूचक बढे । वाणिज्य बैंक समूहको सूचक २.२१ अंकले घटेर १,३८९.६९ अंकमा झरेको छ ।

लगानी, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमश: ०.३२, १०.४३, ३५.७३ र ९२.८६ अंकले घटेका छन् । विकास बैंक समूहको सूचक भने १२४.२३ अंकले बढेर ५,२८८.५८ अंकमा चढेको छ । फाइनान्स समूहको सूचक १२.१२ अंकले बढेर २,९०३.२५ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक ६३.९२ अंकले बढेर ३,४८०.६३ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक ४६.०८ अंकले बढेर १२,४००.९४ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक ९५.८७ अंकले बढेर १२ हजार ४४९.९० अंकमा चढेकामा होटेल तथा पर्यटन, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक क्रमश: ४४.३८, ५३.६७ र ०.०६ अंकले बढेका छन् ।

यसदिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४९५ रूपैयाँ कायम भएको छ । सामुदायिक लघुवित्तको मूल्य ९.९६ प्रतिशतले दरले बढेर प्रतिकित्ता मूल्य २,१७५ रुपैयाँ पुगेको छ ।

सपोर्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । यस्तै, जानकी फाइनान्सको मूल्य ३.६३ प्रतिशतले घटेर ७४७ रुपैयाँमा झरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य २७० रुपैयाँमा ४६ करोड १७ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।