
नवलपरासी (बर्दघाट- सुस्तापूर्व(को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्काय तर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’ को ‘थेसिस’ को नतिजा रोकिँदा विद्यार्थी समस्यामा परेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन् ।
कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको जानकारी दिए । “हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीको ‘रिजल्ट’ यही पुस १६ गते आयो तर हाम्रो रोकिएको छ, थेसिसको रिजल्ट नआएसम्म ट्रान्सक्रिप्ट पाइँदैन”, उनले भने, “यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखले कुराकानी गर्नै खोजेनन्।”
क्याम्पस प्रमुखलाई आफूहरूको नतिजा प्रकाशनका बारेमा फोनमा कुरा गर्दा विद्यार्थीको अभिभावकलाई घरमा फोन गरेर मानसिक तनाव दिइएको विद्यार्थी थपलियाले बताए। रिजल्ट रोकिएकोबारे कलेजसँग कुरा गर्न खोज्दा प्रहरी लगाएर थुन्ने धम्की समेत दिएको उनको भनाइ छ ।
नतिजा रोकिँदा अब आउने नतिजामा उत्तीर्ण वर्ष २०२५ हुने भएकाले लोकसेवामा आवेदन तथा वैदेशिक अध्ययनमा जानसमेत असर पुग्ने उनेले बताए ।
क्याम्पसका प्रमुख एवं प्रबन्ध निर्देशक छवि कँडेलले विश्वविद्यालयको गल्तीका कारण विद्यार्थीको नतिजा रोकिएको स्वीकार गरेका छन् ।
“हामीले आन्तरिक मूल्याङ्कनको नम्बर पठाउने अन्तिम दिनमा विद्यार्थीहरूको नम्बर इमेल गरेर विश्वविद्यालयको परीक्षा शाखामा पठाएका थियौँ”, उनले भने, “विश्वविद्यालयले इमेल नहेरी अरु दुई कलेजको रिजल्ट निकाल्दा हाम्रो कलेजको रोकिएछ ।” विद्यार्थीहरूको नतिजा रोकिएको विषयमा विश्वविद्यालयसँग कुराकानी भइरहेको जनाउँदै क्याम्पस प्रमुख उहाँले चाँडै नै विद्यार्थीहरूको नतिजा प्रकाशन हुने जानकारी दिए।