
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइनसकेको तर आफूहरूले बुझ्ने प्रयास गरिरहेको जानकारी दिएका छन् ।
सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेको र स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको उनले बताए ।
उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पले क्षति पुर्याएको अनुमान गरेको पनि बताए ।
खुम्बु पासाङल्हामु गाउँपालिका- ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले पनि भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिए ।
टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण सङ्कलनमा समस्या भएको उनले बताए। भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए ।