
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री केपी ओलीले हिम्मत लियो भने खेल जित्न सकिने बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।
मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम साफ महिला फुटबल, एसियाली कराते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रममा ओलीले भने, ‘उच्च मनोबल लिएर प्रतियोगितामा लाग्नुहोस् । खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्त्वपूर्ण हुन्छ ।’
ओलीले खेलका माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय जगत्मा बढाएकामा खेलाडीहरूको सराहनासमेत गरे । उनले सामूहिक भावनालाई आत्मसात् गर्दै मैदानमा उत्रनुपर्नेमा जोड दिएका थिए ।
खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको गौरव वृद्धिमा महत्त्वपूर्ण योगदान दिएकामा खेलाडीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।
गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ देखि ७ गतेसम्म भएको २०औं एसियाली कराते च्याम्पियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ लगायतलाई पुरस्कार प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान
यस्तै गत साउन १७ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा बिच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनीषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको हो ।
प्रधानमन्त्री ओलीले साफ महिला फुटबल, एसियाली कराते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरे ।
प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।
यस्तै कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरूको विवरण छिटो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको बताएका थिए ।