
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पहिलो ६ महिना राजनीतिक अभियान र त्यसपछिको अर्को ६ महिनापछि महाधिवेशन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै माओवादीले एक वर्षपछि पार्टी महाधिवेशन गर्ने समय तय गरेको हो ।
‘६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्षले घोषणा गर्नुभयो,’ दाहालको सचिवालयले जनाएको छ, ‘अभियानबाट व्यापक रुपमा जनताको सुझाव आउने भएकाले ६ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुनेछ ।’
माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरुको एक साताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष पुष्पकमल दाहालले बैठकमा जानकारी दिए ।
बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने अध्यक्ष दाहालको भनाइ छ ।
बैठकले अध्यक्ष दाहालले प्रस्तुत गरेको पार्टी रुपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित सर्वसम्मत पारित गरेको छ । उक्त प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।
‘माओवादी केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोसेढुंगा’
पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको दाबी गरे । उनले बैठक एकता र विजयको बैठक भएको बताए । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरुपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुंगा बन्ने र यसले निरन्तरतामा क्रम भंग गरेको उनले स्पष्ट गरे ।
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले अरुलाई गालीगलौज होइन, आफ्नो पार्टीको मात्र होइन देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताए ।
उनले दुवै पार्टीका बैठकबाट जनताले माओवादी र एमाले बीचको सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा को छ ? को आन्तरिक लोकतन्त्रको पक्षमा र को निरंकुश रहेछ भन्ने राम्रोसित तुलना गर्ने अवसर पाएको बताए । ‘एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि कारबाही र निष्कासन गरेर बैठकको सुरुवात गर्यो भने हामीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरेर उच्च जनवादको अभ्यास गरेका छौं,’ अध्यक्ष दाहालले भने, ‘यी दुई पार्टीका बैठकबाट एमालेलाई बुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठासहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीका रुपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो ।’
अध्यक्ष दाहालले अब अभियानमार्फत व्यापक रुपमा जनताको बीचमा गएर महाधिवेशनमा जाने बताए । उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उनले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रुपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरुको कार्यविभाजन गर्दा उनको पनि गरिने बताए ।
‘पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गरौं’
बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीका पदाधिकारीको सम्पत्तिको छानबिन एउटा स्वतन्त्र उच्चस्तरीय आयोग बनाएर गर्नुपर्ने प्रस्ताव गरे । उनले यसो गरे पार्टी नेतृत्व र पार्टी दुवैको साख बढ्ने दाबी गरे ।
‘हाम्रो पार्टीको नेतृत्वले सरकारमा गएर सुशासनको अभियान चलाइरहँदा र अहिले यहाँ सम्पत्ति सार्वजनिक गर्ने र अडिट गर्ने कुरा राखिरहँदा आज सिंगो राजनीतिक नेतृत्वलाई जनताले आमरुपमा भ्रष्टाचारीका रुपमा हेर्ने गर्छन्,’ शर्माले मंगलबार भने, ‘त्यसकारण पदाधिकारीसम्मको सम्पत्तिको छानबिन गर्न एउटा स्वतन्त्र उच्चस्तरीय आयोग गठन गरौं । र, हामी यो आरोपबाट मुक्त हौं र हामीले गल्ती गरेका छौं भने हामी समाप्त पनि हौं ।’
‘कुनै पद लिन, बार्गेनिङ गर्न पार्टीमा अलग प्रस्ताव राखेको होइन’
उपमहासचिव शर्माले आफूले कुनै पद लिन र बार्गेनिङ गर्न पार्टीमा फरक प्रस्ताव नल्याएको प्रस्ट्याएका छन् । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उनले त्यो कुरा पार्टी अध्यक्षलाई पनि भनेको बताए । ‘ती प्रस्ताव राख्दा कुनै कुनै पद लिनलाई, कुनै मन्त्री खानलाई, कनै बार्गेनिङ गर्नलाई होइन,’ उनको भनाइ छ, ‘त्यो अध्यक्ष कमरेडलाई मैले आफ्नो सबै कुरा बताएको पनि छु । त्यसका लागि होइन ।’
शर्माले आफूलाई लागेको कुरा खुलस्त भन्ने आफ्नो स्वभाव भएको र त्यसै अनुसार पार्टीको विधि पद्धतिअनुसार प्रस्ताव राखेको समेत बताए । ‘मलाई लागेका राजनीतिक, सांगठनिक विचारहरु विधि-पद्धतिसंगत रुपमा राखेपछि, अध्यक्षसँग घण्टौं गएर कुरा गरेको छु,’ उनले भने, ‘मैले कुराहरु खुलस्त राखेको हुँ । कुनै नचपाई, अर्को कुनै नगरी, बाहिर गएर कुरा काट्नुभन्दा अगाडि भन्नु राम्रो हो भन्ने मेरो बानीका आधारमा त्यो कुरा राखेको हुँ । र, स्थायी समितिमा मैले लिखित रुपमा प्रस्ताव प्रस्तुत गरेको कुरा नेतृत्वको अगाडि, अभिभावकको अगाडि, पार्टीको अगाडि राख्नु मेरो कर्तव्य ठानेर मैले राखेको हुँ ।’
आफूले प्रतिवेदनमा वामपन्थी र समाजवादी शक्तिका बीचमा एकता, ध्रुवीकरण गरेर जानुपर्ने, दलित, अल्पसंख्यकलाई जोडदिनुपर्ने, सहरी क्षेत्रलाई ध्यान दिनुपर्ने, विचारको विकास गर्नुपर्नेलगायत कुरा उठाएको भन्दै शर्माले त्यसमध्य केही प्रचण्डको प्रतिवेदनमा समेटिएको बताए ।
बैठकमा अध्यक्ष दाहालले फागुन १ भित्र सबै केन्द्रीय सदस्यले सम्पत्ति विवरण र आर्यआर्जनको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरे । प्रत्येक पदाधिकारीलाई ३ मिनेटको समय दिएको भए पनि दाहालसँग समय मागेर १३ मिनेट बोलेका शर्माले युद्धमा हुँदा हजारौं सहिद भएको भन्दै अहिले पनि केही हजार सहिद हुन तयार हुनुपर्नेमा जोड दिए ।
‘त्यो बेला हजारौं सहिद हुनुभएको छ । अब अर्को हजार सहिद बनौं,’ उनले भने, ‘त्यसले नेतृत्वको, पार्टीको साख उचाइँमा पुग्छ । सुशासनको अभियानलाई अझ सशक्त रुपमा अघि बढाउने नैतिक बल प्राप्त हुन्छ ।’
उपाध्यक्ष पम्फा भुसालले अहिले पार्टी अध्यक्ष दाहालकै नेतृत्वमा एकताबद्ध भएर जानुपर्नेमा जोड दिएकी थिइन् । बैठकमा उनले भनिन्, ‘अहिले अभियानको योजना बनाएर जाँऔं, महाधिवेशन ६ महिना पछि गरौं । अहिले पार्टी अध्यक्षको नेतृत्वमा एकताबद्ध भएर जाऔं ।’
उपमहासचिव वर्षमान पुनलगायत नेताहरुले भने चाँडै विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । माओवादीभित्र लामो समयदेखि विशेष महाधिवेशनको कुरा उठ्दै आइरहेको छ ।
उपमहासचिव जनार्दन शर्मालगायतले नेतृत्व हस्तान्तरणको विषय उठाइरहेका बेला पार्टी दाहालले त्यसलाई महाधिवेशनबाट टुंग्याउने जवाफ दिए ।
‘जेन-जी’ पुस्तासँग छलफल गर्नुपर्ने प्रस्ताव
बैठकमा जेन-जी पुस्ता केन्द्रित पार्टी अभियान चलाउनुपर्ने प्रस्ताव आएको छ । बैठकमा मंगलबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले पार्टी अभियान अब जेन-जी पुस्तामाझ पुग्नुपर्ने बताएका हुन् ।
‘सन् १९९७ देखि २०१२ सम्म जन्मिएका जेन-जेड पुस्ता जो समाज होइन सञ्जाल हेरेर धारणा बनाउँछन् उनीहरू केन्द्रित विशेष अभियान चलाऔं,’ उनले भने, ‘सुरुवातमा सातै प्रदेशमा अध्यक्ष प्रचण्डसँग जेन-जेड पुस्ता साक्षात्कार कार्यक्रम राखौं ।’
उनले विदेशबाट फर्किएका युवाहरू लक्षित कार्यक्रम ल्याउन पनि बैठकमा प्रस्ताव गरेका छन् । ‘अहिले दैनिक २ हजार युवा बाहिरिने, दैनिक करिब १२ सय युवा फर्कने गरेको तथ्यांक छ,’ बस्नेतले भने, ‘६० लाख युवा देश बाहिर छन् । ती युवाहरू र त्यसबाट आश्रित जनसंख्यालाई तिनले पार्ने प्रभावको विश्लेषण सहित प्रवास, युवा र रिटर्नी जोडेर अभियान चलाऔं ।’ उनले सातामा १ दिन अध्यक्ष दाहाले १ स्थानीय तहका जनप्रतिनिधि र १ पार्टी कमिटी प्रमुखसँग भर्चुअल वा टेलिफोनबाट १० मिनेट ऊर्जा संवाद गर्नुपर्ने भन्दै सुझाए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको छैटौं पूर्ण बैठक (पौष २१-२३ २०८१) बाट पारित समसामयिक प्रस्तावहरु :
यो बैठक,
१. संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका निम्ति नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक एवं सामाजिक आन्दोलनहरुका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते अपाङ्गप्रति उच्च सम्मान प्रकट गर्दछ र उहाँहरुका आदर्शलाई पछ्याउदै अगाडी बढ्ने दृढ संकल्प व्यक्त गर्दछ।
२. हालै कीर्तिशेष हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सदस्य नेपाल सरकारका पूर्वमन्त्री पदम राई (भोजपुर), जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य पार्वती दुलाल (कन्चनपुर), लक्ष्मण यादव (सप्तरी), तुलसा बुढाथोकी (रूकुम पश्चिम) र इन्द्रविलाश पौडेल (चितवन)प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ तथा राष्ट्र, जनता, आन्दोलन र पार्टीको हितमा उहाँहरुले पुर्याउनु भएको योगदानप्रति कदर एवं सम्मान व्यक्त गर्दछ ।
३. गत मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा विजयी हुनुहुने नेकपा माओवादी केन्द्रका सबै सदस्यहरुसहित नेकपा (माओवादी केन्द्र)सँगको सहकार्यमा विजयी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछ र उक्त निर्वाचनमा सहयोग, समर्थन र मतदान गर्ने मतदाताहरुप्रति आभार व्यक्त गर्दछ।
४. सार्वभौम संसदलाई छलेर अध्यादेसमार्फत राज्य संचालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृतिको घोर बिरोध गर्दछ र तत्काल संघीय संसद र प्रदेशसभाहरुको हिउँदे अधिवेशन आव्हान गर्न सरकारसँग जोडदार माग गर्दछ । साथै, संघीयताको कार्यान्वयन र मौलिक हकको कार्यान्वयनसँग सम्बन्धित निजामती सेवा, संघीय प्रहरी ऐन, बिद्यालय शिक्षा लगायतका प्रस्तावित बिधेयकहरु तत्काल पारित गर्न ध्यानाकर्षण गराउँदछ ।
५. सरकारको तर्फबाट नेपाल बिद्युत प्राधिकरण, त्रिभुव विश्वविद्यालय लगायतका सार्वजनिक संस्थानहरु र कर्मचारीतन्त्रमा भइरहेको चरम राजनीतिक हस्तक्षेपको, तीब्र बिरोध गर्दछ र यस प्रकारका स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न जोडदार माग गर्दछ ।
६. शान्ति प्रक्रियाका बाँकी कामहरु सम्पन्न गर्ने सन्दर्भमा देखिएको सरकारी उदासिनताप्रति आपत्ति प्रकट गर्दछ र तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकहरुको छानबिनसम्बन्धी आयोगहरुको गठन प्रक्रिया अगाडि बढाइ शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्न जोडदार माग गर्दछ ।
७. जनताको दैनिक उपभोग्य बस्तुहरुमा भएको मूल्यबृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दछ र तत्काल मूल्यवद्धि नियन्त्रण गर्न सरकारसँग जोडदार माग गर्दछ । किसानहरुले उत्पादन गरेको कृषि उपजको न्युनतम समर्थन मूल्य तोक्न तथा औपचारिक क्षेत्रका श्रमिकहरुको ज्याला वृद्धिका साथै अनौपचारिक क्षेत्रमा कार्यरत मजदूरहरुको न्यूनतम ज्याला निर्धारण गर्न सरकारसँग जोडदार माग गर्दछ ।
८. हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न बजेटमा प्रस्तावित त्रिभुज आर्थिक परियोजना, दलित समुदायको संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि प्रस्तावित दलित बिशेष प्राधिकरण स्थापना, द्वन्द्वबाट प्रभावित जनताका लागि अघि सारिएको शान्ति कोष, प्रवासबाट स्वदेश फर्किएर उद्यमशीलता प्रवर्धनको उद्देश्य राखेर बजेटमा उल्लेखित रिटर्नी उद्यमशीलता कार्यक्रम, रेमिट हाईड्रो, कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिद्यालयको स्थापना, कर्णाली तथा हिमाली क्षेत्रको समृद्धि लगायत दूरगामी महत्वका आयोजनाहरुलाई तत्काल कार्यान्वयन गर्न जोडदार माग गर्दछ।
९. काठमाडौं उपत्यका लगायतका बाढी प्रभावित जिल्लाहरुमा अस्थायी आवास, आवासहरु, सरकारी कार्यालयहरु तथा बिद्यालय भवनहरुको पुनर्निर्माण तथा पुनर्स्थापनाका काम यथाशीघ्र अगाडि बढाउन जोडदार माग गर्दछ । गत वर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित जिल्लाहरुमा अस्थायी आवास निर्माणको अन्तिम किस्ताको भुक्तानी गर्ने व्यवस्था अहिलेसम्म नहुनु सरकारको गैरजिम्मेवारीपूर्ण व्यवहार भएको ठहर गर्दछ र तत्काल भूकम्प प्रभावित क्षेत्रहरुमा पुनर्निर्माण तथा पुनर्स्थापनाको काम यथाशीघ्र अगाडि बढाउन जोडदार माग गर्दछ। साथै, यो बैठक जलवायु परिवर्तनको प्रभावसँगै तराई मधेशका जिल्लाहरुमा बढ्दो शीतलहर र हिमाली जिल्लाहरुमा हिमपातको कारण उत्पन्न हुनसक्ने जोखिमबाट सुरक्षित रहन आम जनसमुदायसँग विशेष अपिल गर्दछ । प्रकोपको जोखिम, रोकथाम र न्यूनीकरणका लागि आवश्यक तयारी तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछ । साथै जलवायु परिवर्तनका असरहरूको व्यवस्थापनमा हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको अन्तर्राष्ट्रिय पहलकदमी र राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको माग गर्दछ।
१०. सहकारी ठगी कारवाही सन्दर्भमा सत्ता गठबन्धन निकट व्यक्तिहरुलाई संरक्षण गर्ने सरकारको पूर्वाग्रही र भेदभावपूर्ण रवैयाको बिरोध गर्दछ। सहकारी क्षेत्रमा देखिएको अनियमितता र ठगीको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारवाही गर्न र सहकारी पिडितडहरुको बचत रकम फिर्ता गर्ने व्यवस्था मिलाउन तथा लघुवित्त पीडितहरूका माग सम्बोधन गर्न जोडदार माग गर्दछ ।
११. सुशासन र सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको सरकारी उदासिनताप्रति चिन्ता ब्यक्त गर्दछ । भ्रष्टाचार नियन्त्रण लगायत सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्दछ ।
१२. सामन्तवादको पीडादायी अवशेषको रुपमा रहेको मिटरब्याजको समस्या समाधान गर्न कानुन निर्माण, उच्चस्तरीय आयोग गठन र जिल्ला प्रशासन कार्यालयहरुमा मिटरब्याज पीडितहरुलाई सम्मिलित गरी सहजीकरण समिति गठनमार्फत हाम्रो पार्टी नेतृत्वको सरकारले अघि बढाएको छानविन र न्याय निरुपणको काम बन्द भएकोमा गम्भीर आपत्ति प्रकट गर्दछ । मिटरब्याज पीडितहरुलाई न्याय दिने कार्यलाई अघि बढाउन सरकारसँग जोडदार माग गर्दै पीडिततहरुको पक्षमा निरन्तर संघर्ष गरिरहने दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।
१३. प्यालेस्टेनी जनताको आत्मनिर्णयको अधिकार सहितको स्वतन्त्र एवम सार्वभौम राज्यको मागलाई उचित ठहर गर्दछ र संयुक्त राष्ट्रसंघको ‘दुई राज्य समाधान’को प्रस्तावलाई समर्थन गर्दछ । इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भर्त्सना गर्दै पश्चिम एशिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गैरहेको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । वार्ताद्वारा शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आह्वान गर्दै हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवं मध्यपूर्व लगायतका ठाउमा रहेका लाखौ नेपालीहरुको सुरक्षाको सुनिश्चितताका लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।
१४. देशका विभिन्न भागमा देखिएका सीमा सम्बन्धी समस्याहरू समाधानका लागि कूटनीतिक पहल थप प्रभावकारी बनाउन माग गर्दछ।
१५. देशका विभिन्न क्षेत्रमा महिला तथा बालबालिकामाथि भएका हिंसाका घटनाको भर्त्सना गर्दै दोषीहरुमाथि कडा कारवाही, पीडितहरुको कानुनी उपचारको सुनिश्चिता तथा महिला एवं बालबालिकामाथि हिंसा अन्त्य गर्न सरकारसँग माग गर्दछ।
१६. बेलायती सेनामा काम गरेका नेपालीहरूले लामो समयदेखि समान तलब, समान पेन्सन र सुविधाका लागि आएका मागप्रति ऐक्यबद्धता व्यक्त गर्खछ । साथै बेलायत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गर्दछ।
यो पनि…
‘माओवादी केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोसेढुंगा’