पुस २५ :

बडो विचित्रको संयोग पनि भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु गर्‍यौं र त्यही दिनदेखि अर्को एउटा पार्टी एमालेले बैठकको सुरुवात गर्‍यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरुले पक्कै पनि तुलना गरेर हेरेकै होलान् । यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान् ।

म के मात्रै भन्न चाहन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौज गर्नेभन्दा वैचारिक राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्ताबेज तयार पारेका छौं । यसमा हाम्रो समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई योजना र कार्यक्रमद्वारा यसको औचित्य सिद्ध गर्ने गरी प्रस्तुत गरेका छौं भने अर्को पार्टीको सम्पूर्ण ध्यान गालीगौजमा, झुटा र भ्रामक प्रचारमा, मुख्यतः माओवादी पार्टी र नेतृत्वका विरुद्ध आक्षेप लगाउने कुरामा नै बढी केन्द्रित देखियो ।

मलाई लाग्छ यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको स्थिति छ । माओवादीले सरकारमा रहँदा या सरकारबाहिर रहँदा पनि विगतका अनुभवका समीक्षा र आत्मसमीक्षासहित देशको भावना, यसको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्ने जमर्को गरिरहेको छ भने अर्को पार्टी भ्रष्टाचार, बेथिति र विकृतिलाई प्रोत्साहन गर्ने ढंगले आएको छ भन्ने कुरा प्रस्ट देखिएको छ ।

एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रुपमा बुर्जुवा अराजकतावादलाई जोड दिएको छ । यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले आज दुई वटालाई तुलना गरेर हेरी नै राखेको छ । एउटा पार्टीको बैठकको पृष्ठभूमि हेर्नुभयो भने नेपाली जनताले पनि योचाहिँ अलि नमिल्दो भयो, एउटा त्यस्तो व्यवसायी, जसको बारेमा अदालतमा मुद्दा दर्ता छ, त्यो पनि जग्गा कसको हो भन्ने नटुंगिँदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुईजना महिला नेताहरुले आलोचना गरेकै भरमा अनुशासनको डन्डा चलाएर कारबाही गर्ने र झन्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्कासन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा आफ्नो प्रभुत्वद्वारा व्यवस्थापन गर्ने कोसिस गरियो भने हाम्रो पार्टीमा मतहरुलाई सम्मान गर्ने, आएका मतहरुलाई देशैभरि परामर्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने, सहमति र समझदारी बनाउने कोसिस गरियो ।

यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्यान्डल गर्ने दुई विश्व दृष्टिकोण देखिए । मलाई लाग्छ, यो कुरा पक्कै नेकपा एमालेभित्र रहेका इमानदार, प्रगतिशील र वामपन्थी नेता-कार्यकर्ताहरुले हिसाब गर्नु भएकै होला । तपाईं-हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्र आउने बहसलाई कसरी ह्यान्डल गर्दै छौं र गर्छौं भने अरु बुर्जुवा पार्टीहरुले र खासगरी संशोधनवादीहरुले कसरी ह्यान्डल गरे र गर्दो रहेछ भन्ने कुरा पनि राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ ।

यी दुई बैठकले राम्रो स्कुलिङ, खासगरी एमालेभित्रका इमानदार नेता-कार्यकर्तालाई पनि राम्रो शिक्षा दिन्छ । यसले वाम ध्रुवीकरण र वामपन्थी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ यसले राम्रोसँग देखाएको छ । यो विषय एउटा कोठाभित्रको बैठकको अभ्यास मात्र नभएर कुन धारको प्रवृत्ति के भन्ने प्रस्ट गर्दछ । एउटाले यो देशका मजदुर, किसान, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, महिला सबैतिर फर्केर उनीहरुको हक अधिकारका लागि संघर्ष गर्ने प्रतिज्ञा गरेको छ भने अर्कोले तिनका अधिकार खोस्नका लागि तथाकथित् संविधान संविधान संशोधनमार्फत त्यसलाई कमजोर पार्ने कोसिस गरेको छ ।

एउटाले हिजो हामीले प्रस्तुत गरेका संघीयता कार्यान्वयनका लागि आवश्यक शिक्षा, निजामतीलगायत विधेयक पारित गर्न जोड लगाउने निर्णय गरेको छ भने अर्कोले संघीयता कमजोर पार्ने प्रयास गरेको छ । समग्रमा दुई पार्टीका बैठकबाट एमाले उदार पुँजीवादी बुर्जुवा संस्कृतितिर अगाडि बढेको तथाकथित् कम्युनिस्ट गुट हो भन्ने देखिएको छ भने अर्कोतिर हाम्रो पार्टी वैचारिक निष्ठासहित समाजवादप्रति अगाडि बढ्न जमर्को गरेको पार्टी हो भन्ने देखिएको छ ।

यी दुई दलका प्रवृत्ति आगामी दिनमा अझ स्पष्ट रुपमा देखा पर्दै जानेछन् । हामीले तयार पारेको राजनीतिक दस्ताबेज प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा हाम्रो र एमालेबीचको भेद स्पष्ट रुपमा देखा पर्दै जानेछ ।

-नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी केन्द्रीय समितिको बैठक समापन सत्रलाई गरेको सम्बोधनको अंश