
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बिमा ’ भएको छ । नाफिजले आफ्ना २३५ सदस्य तथा सल्लाहाकारहरुको जनही सात लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बिमा गराएको हो ।
दुईवटा निर्जीवन बिमा कम्पनी र नाफिजबीच सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा २३५ जनाको सामूहिक दुर्घटना बिमा गराएको हो ।
कुल बिमांक रकम १६ करोड ४५ लाख रुपैयाँ रहेको छ । सम्झौतामा सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्रबहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाखका दरले दुर्घटना बिमा भएको छ । नाफिजका अध्यक्ष कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकारहरु विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यहरुको बिमा गराइएको बताइन् ।
‘फिल्डमा हरेक खालका जोखिम हुन्छन्, पत्रकारहरु त्यस्तो जोखिम मोलेर फिल्डमा खटिएका हुन्छन्,’ अध्यक्ष कार्कीले भनिन्, ‘यसर्थ, नाफिजले आफ्ना सदस्यहरु कथंकदाचित कुनै खालको दुर्घटनामा परिहालेको खण्डमा त्यसको बहन गर्न दुईवटा निर्जीवन बिमा कम्पनीसँगको सहकार्यमा प्रतिसदस्य ७ लाखका दरले सबै सदस्यहरुको बिमा गराएको हो । यो नाफिजको लागि ऐतिहासिक र गौरवको काम भएको छ ।’
नाफिज आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका साथै स्वास्थ्य जोखिममा समेत सचेत रहेको अध्यक्ष कार्कीको भनाइ छ ।
बिमासम्बन्धी सम्झौतापत्र आदान-प्रदान कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बिमाले पत्रकारहरुको सुरक्षामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ बैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरुको बिमा गराएर पत्रकारहरुलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताउँदै नाफिजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।