
काठेखोला गाउँपालिका- ६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।
गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब दुई करोडले बढी हो । गत वर्ष किसानले तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।
वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउँछन् । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ ।
गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका बिरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला- ६ का किसान लोकनाथ कँडेलले यस वर्ष १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै एक लाखको बिक्री गर्न बाँकी रहेको बताए ।