
जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ ।
जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको पुस १२ गते सरुवा भएको हो । उक्त दिनदेखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन।
न्यायाधीश पौडेलको स्थानमा पर्वत जिल्ला अदालतमा अछामबाट प्रकाश ढुङ्गानाको सरुवा भएको छ । अछामबाट सरुवा भएका जिल्ला न्यायाधीश कार्यक्षेत्रमा हालसम्म उपस्थित नहुँदा दैनिक मुद्दा सुनुवाइ रोकिएको पर्वत जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रप्रकाश खड्काले बताए ।
यौन दुर्व्यवहार घटनाकी पीडित एक महिलाले पटक पटक मुद्दा सुनुवाइ नहुँदा आफूले समयमा न्याय पाउन नसकेको गुनासो गरिन् ।
वि. सं २०८१ वैशाखमा यौन दुर्व्यवहार घटनाकी पीडित ती महिलाको अदालतमा मुद्दा चालु प्रक्रियामा छ । आरोपित पुर्पक्षका लागि थुनामा भए पनि एउटै मुद्दा नौपटकसम्म इजलासमा पेशी चढेको अदालतको तथ्याङ्कमा उल्लेख छ । तर नौपटकसम्म पेशीका रूपमा इजलास पेस भएको मुद्दा ६ पटक विविध कारण देखाएर स्थगन भएको छ भने दुई पटकमात्र आदेश भएको छ ।
न्यायका लागि अदालतमा आएका सर्वसाधारण पटकपटक मुद्दा सुनुवाइ प्रक्रिया स्थगन हुँदा र समयमा मुद्दा फछर्यौट हुन नसक्दा समस्यामा परेका छन् ।
पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ । न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ ।
सामान्य थुनछेक आदेशकार्य भने नरोकिएको श्रेस्तेदार खड्काले बताए ।