
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन टुंग्याउन बुधबार पदाधिकारी बैठक बोलाएको छ।
त्यसअघि बुधबार बिहान ८ बजे खुमलटारमा बस्ने पदाधिकारी बैठकले कार्यविभाजनमा अन्तिम निर्णय लिने माओवादीका एक नेताले बताए । पुस २१ र २३ गते बसेको केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो।
पदाधिकारी टुंगोमा पुगेपछि नेताहरूको कार्यविभाजन तोकेर अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्ने पनि माओवादीको तयारी छ।विशेष गरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन लगायतका बाँकी नेताहरुको जिम्मेवारी तय हुने ती नेताले बताए।
पूर्वउपराष्ट्रपति भइसकेको ब्यक्ति किन पुन: राजनीतिमा सक्रिय हुन खाेजेकाे भन्दै केन्द्रीय समिति बैठकमा नेताहरूले चर्काे आवाज उठाउँदा अध्यक्ष पुष्पकमल दाहालले आलोचना खेप्नु परेकाे थियो।दुई-दुई पटकसम्म उपराष्ट्रपति भएका पुन फेरि सक्रिय राजनीतिमा फर्कन पार्टीका बैठकहरुमा सहभागी हुँदै आएका छन् । यसअघि सोमबार बस्ने तय भएकाे बैठक बुधबालाई सारिएको हो।