
हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ ।
हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि हिमपात हुन सकेको थिएन ।
विगतका वर्षमा मङ्सिरदेखि हिउँ पर्ने भए पनि यसवर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ । हिमपात भएपछि कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका- १ पिसाङका किसान मुखिया गुरुङले बताए ।
ढिला गरी हिउँ परेपनि स्थानीय खुसी भएको उनले सुनाए । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने उनको भनाइ छ ।
किसानका अनुसार हिउँ परेपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतोलगायतको उत्पादन बढ्छ भने तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रुपमा काम गर्दछ ।
दुई हप्ताअघि मात्र सिँचाइ गरेका मनाङ चामेका किसान शेराप विष्ट हिमपातले खुसियाली ल्याएको बताउँछन्।
जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा मनाङका हिमाल कालापत्थर बन्दै गएका छन् । अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायतका हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रुपान्तरण भइसकेका छन् ।
जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए तल्लो क्षेत्रमा अहिलेसम्म हिउँ पर्ने सङ्केत नदेखिएको नासों गाउँपालिका- ५ का वडाध्यक्ष थुतेन लामाले बताए । हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उनले बताए ।