म्याग्दी, साउन २९ :

म्याग्दीको बेनी नगरपालिका-९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।

शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी र स्थानिय जनप्रतिनिधिलाई खबर गरेका थिए । 

घटनास्थलबाट उत्खनन गरिएको कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुुभयो ।

विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका-९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् । घटनास्थलमा पुगेका उनका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् । 

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका-९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बेपत्ता मीना, कङ्काल, सामग्री र थुुनामा रहेका युुवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्रै पुुष्टि हुने प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।