
नेपाल राष्ट्र बैंकले दुई अर्ब ५५ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकको भनाइ छ ।
रकम लगानीको अवधि २०८१ माघ ६ गतेदेखि २०८२ माघ ६ गतेसम्म रहनेछ । रकम लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले यही माघ २ गते बुधबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याजसमेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार लगानीका लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब चार करोड, विकास बैंकहरुका लागि ३८ करोड २५ लाख र फाइनान्स कम्पनीहरुका लागि १२ करोड ७५ लाख रुपैयाँ तोकिएको छ ।
रकम लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई वर्ष पूरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्नेलगायत प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।