काठमाडौँ, माघ ३ :

प्रधानमन्त्री कप टी- २० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुने भएका छन् । 

धनगढीको फाप्ला क्रिकेट मैदानमा दोस्रो दिन आजको पहिलो खेलमा बिहान ९ बजे सशस्त्र प्रहरीको एपीएफ र गण्डकी प्रदेशबीच खेल हुँदैछ । हिजोको खेलमा एपीएफले कर्णाली प्रदेशलाई एक सय ११ रनले हराउँदै विजयी सुरुवात गरेको छ।

त्यस्तै दिउँसो १ बजे हुने खेलमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले खेल्दैछन् । हिजोको उद्‌घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो ।

प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली एपीएफ र आर्मी सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा भएको प्रतियोगिता माघ १२ गतेसम्म चल्नेछ ।