काठमाडौं, माघ ३ :

निर्माण व्यवसायी महासंघले आफूहरुको माग पूरा गर्न सरकारलाई माघ १५ गतेसम्मको अल्टिमेटम दिएका छन् । महासंघले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारविरुद्ध चरणबद्ध रुपमा सडकमा जाने घोषणासमेत गरेको छ । 

महासंघको राष्ट्रिय भेलाले सरकारले निर्माण व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन नगरेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।  निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डन्डी उद्योगीहरुले मूल्य वृद्धि, भुक्तानी अभाव,सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलताजस्ता समस्या समाधान नगरेको भन्दै आन्दोलनको घोषणा गरेको महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा  महासंघका महासचिव रोशन दाहालले माघ ३ गतेदेखि ७ गतेसम्म प्रधानमन्त्री, सम्बन्धित मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु, राजीतिक दलका अध्यक्षहरु, संघीय सरकारी निकाय, प्रदेश महासंघले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई माग पूरा गराउन माघ १५ गतेसम्मको अल्टिमेटम दिने बताए । साथै महासंघले आगामी माघ १८ गते काठमाडौंको माइतीघर मण्डलामा र माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ ।

माघ २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने महासंघले चेतावनी दिएको छ । त्यसपछि पनि सरकारले व्यवसायीहरुका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने जनाएको छ ।