काठमाडौं, माघ ३ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाए । उनले सत्ताको बारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले संविधान र संसद्लाई उपेक्षा गरेको बताए ।

उनले संसद्को बैठकलाई छलेर र विधेयकहरु समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउन नहुने धारणा राखे । अध्यादेश ल्याउन समितिमा विचाराधीन विधेयक पहिला फिर्ता गर्नुपर्ने भन्दै उनले अध्यादेश ल्याउँदा पनि सबैसँग छलफल भए विवाद कम हुने बताए ।

‘मैले सत्ताको बारेमा केही भनेको छैन । सत्ताको दुरुपयोग भइरहेको छ । सरकारले संविधानलाई र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको छ । संसद्को बैठकलाई छलेर त्यसमा पनि विधेयकहरु समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउने काम भएको छ । यो नियमविपरीतको काम हो । यस्तो कामहरुको बारेमा सरकारलाई हामीले खबरदारी गर्नुपर्छ,’ उनले भने, ‘यस्ता कुराबाट पछि हटोस् भनेर त्यसको निम्ति दबाब दिनुपर्छ । विधि प्रक्रियाको उल्लंघन हुनु भएन । विधेयक समितिमा छ भने समितिबाट पहिला फिर्ता हुनुपर्छ । बल्ल अध्यादेशको रुपमा आउनसक्छ । विधेयक समितिमा विचाराधीन हुँदाहुँदै त्यसमा अध्यादेश ल्याउन पाइँदैन । अध्यादेश ल्याउनै छ भने छलफलको विषय बनाउँदा विवाद कम हुन्छ । छलफलपछि राम्रो हुन्छ ।’

अध्यक्ष नेपालले सरकारले राम्रा काम गरोस् भन्ने आफूहरुको शुभेच्छा रहेको बताए ।